एस फाउण्डेसन अफ नेपालद्वारा आयोजित कृषि, पर्यटन तथा औगोगिक व्यापार मेला तथा तेश्रो बारा महोत्वसको उद्दघाटन कार्यक्रममा प्रदेश प्रमुखज्यूको मन्तब्य

एस फाउण्डेसन अफ नेपालद्वारा आयोजित कृषि, पर्यटन तथा औगोगिक व्यापार मेला तथा तेश्रो बारा महोत्वसको उद्दघाटन कार्यक्रमको अध्यक्षता गरिरहनुभएका अध्यक्ष बेदप्रसाद भट्ट ज्यु, मञ्चमा उपस्थित विशिष्ट अतिथिहरूः बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य माननीय एकवाल मिया ज्यु, प्रदेश सभा सदस्यहरु माननीय सुन्दर विश्वकर्मा, माननीय शोभा लामा, माननीय सीता गुरुड, माननीय ज्वाला शाह, प्रमुख राजनीतिक पार्टीका केन्द्रीय सदस्य तथा जिल्लाका नेताहरु, नगरपालिका तथा गाउँपालिका प्रमुखलगायतका जनप्रतिनिधिहरु, बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत विभिन्न क्षेत्र, निकाय र अङ्गका प्रमुखहरु, सञ्चारकर्मी मित्रहरु, सुरक्षाकर्मी मित्रहरु र कलाकार भाई वहिनीहरुलगायत महोत्सवलाई भव्यतापूर्वक सफल बनाउनका लागि उपस्थित हुनुभएका सबै तह र तप्काका व्यवसायी मित्रहरु र आदरणीय दिदीवहिनी तथा दाजुभाईहरुमा प्रदेश नम्बर दुईको प्रमुखको हैसियतले हार्दिक अभिवादन व्यक्त गर्दछु ।

बाराको सुन्दर औद्योगिक नगरी सिमराको औराहमा आयोजित तेस्रो कृषि, पर्यटन, औद्योगिक व्यापारको यस ११ दिने महोत्सवमा सहभागी हुन पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ । यसका लागि आयोजक एस फाउन्डेसनका पदाधिकारीहरुप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । सर्वप्रथमतः यस एघार दिने महोत्वसवको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु ।

कृषि, पर्यटन, औद्योगिक ब्यापार मेला तथा तेस्रो बारा महोत्सवले नेपाल सरकारका राष्ट्रिय गौरवको आयोजना रहेको बिशेष आर्थिक क्षेत्र सेजको ब्यापक प्रचार गर्ने, उद्योगी व्यवसायीहरुलाई यस क्षेत्रको भ्रमण गराई लगानीको वातावरण सिर्जना गर्ने, कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी गर्ने, आन्तरिक तथा बाह्य पर्यटकको जमघट गराई प्रर्यटन प्रवद्र्धन गराउने, उत्पादित बस्तुहरुको बजार प्रवद्र्धन गर्ने, उद्यमी र उपभोक्ताबीच सोझो सम्पर्क स्थापना गर्ने र औद्योगिक पर्यटनलाई बढवा दिनेजस्ता उद्देश्यहरु राखेर यो भव्य महोत्सवको आयोजना गरिरहेको छ । यो प्रयास आफैंमा स्रहानीय रहेको छ । यसका लागि आयोजकहरुलाई हार्दिक धन्यवाद र बधाई दिन चाहान्छु ।

बारा जिल्ला र मध्यतराईकै तीव्र विकसित केन्द्र बनेको सिमराले विशेषतः एक दशकयता  आफ्नो परिचय अत्यन्त फराकिलो बनाएको छ । राजनीतिक, आर्थिक, सामाजिक र बहुआयामिक रूपमै सिमराको विकास तीब्रगतिमा अघि बढेको छ । वीरगन्ज पथलैया औद्योगिक करिडोरका साना–ठूला उद्योगहरू, सहकारी, खेलकुद, होटेल पर्यटन, शिक्षालगायत बहुआयामिक विकासका अनुभव सिमरासँग छन् । पुरानै बजारको रूपमा परिचित बाराको पश्चिमोत्तर र पर्सा जिल्लाको पूर्वोत्तर भूभागको एक केन्द्र जीतपुर विशेषतः भैंसीबजार, खाद्यसामग्री उद्योगहरू, लत्ताकपडा, भाडाकुँडा, हार्डवेयरलगायतका वस्तुहरूको व्यापारमा चर्चित छ ।

पूर्वाधार निर्माणको हिसाबले वर्तमानमा कमजोर देखिए पनि बारा जिल्लाको यो क्षेत्र सम्भावनाको हिसाबले उज्ज्वल भविश्य बोकेको छ । मुलुकका २१ वटा राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये दुईवटा यही जिल्लामा रहेका छन् । मुलुकको जेठो विमानस्थल रहेको सिमरा नजिकै निर्माणाधिन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल यसै उपमहानगरसँग जोडिएको छ भने तराई–मधेस–काठमाडौं द्रूतमार्गको प्रभाव पनि यही क्षेत्रमा पर्दछ । यी दुई आयोजनाले यो उपमहानगरको समग्र र विशेषतः पूर्वी तथा दक्षिणी भूभागलाई पूर्वाधारसम्पन्न बनाउन अवश्य पनि सहयोग पु¥याउनेछ ।  त्यस्तै सिमरा डुमरवानामा रहेको विशेष आर्थिक क्षेत्रमा सयौं उद्योगहरू स्थापना हुने र पचासौं हजारले रोजगार पाउनेछन् ।

सिमरा व्यापारिक, सामाजिक–सांस्कृतिक र पर्यटकीय दृष्टिकोण महत्वपूर्ण स्थल रहेको छ । वीरगन्ज, गढीमार्ई, सिम्रौनगढ, पर्सा बन्यजन्तु आरक्ष, हलखोरिया, चुरेलगायतका स्थलहरूका कारण पर्यटकीय सम्भावना पनि फराकिलो छ । यिनको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन सक्ने हो भने यस क्षेत्रको भविष्य अझ उज्जवल छ ।

यथार्थमा यो क्षेत्र राजनीतिक रूपमा सचेत र सामाजिक रूपमा व्यवस्थित एवम् सांस्कृतिक रूपमा विविधतायुक्त छ । फराकिला खेतीयोग्य फाँटहरू रहेको डुमरवाना, फत्तेपुर, इनर्वासिरा जस्ता ठाउँहरु त कृषि, पशुपालन र घरेलु उद्यमका हिसाबले अघि छ र गतिशील ग्रामीण अर्थतन्त्रको नमुना मानिन्छन् । कृषि तथा पशुपालनलाई अझै व्यवसायिक बनाएर आत्मनिर्भरको अभियानमार्फत् नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकिन्छ ।

त्यसैगरी मुलुकको दुईतिहाई बाह्य व्यापारको नाका वीरगन्ज रक्सौलसँग यो क्षेत्र जोडिएकाले विकासमा सकारात्मक योगदान पुग्नेछ । कृषि उत्पादनसँग सम्बन्धित उद्योगहरू स्थापना गरेर रोजगार र आयआर्जन बढाउन सकिन्छ । समाजको समग्र र दिगो विकासको लागि समुदायको चेतना र लगाबको महत्वपूर्ण भूमिका हुन्छ । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक रूपमा एकताबद्ध रूपमा अघि बढिरहेको यहाँको समाजको समग्र विकास र समृद्धिका लागि सङ्घ, प्रदेश तथा  स्थानीय जनप्रतिनिधिहरु, राजनैतिक नेताहरु, उद्यमीहरु इमान्दारीपूर्वक लाग्न जरुरी छ ।

कुनै पनि क्षेत्रको विकास र समृद्धि अवसर र सम्भावनाले मात्रै सार्थक हँदैन । त्यसको लागि ठीक रणनीति एवम् कार्यनीतिक योजना चाहिन्छ । त्यसको प्रभावकारी कार्यान्वयनको लागि ठीक दृष्टिकोणको इमान्दार र कुशल नेतृत्वको आवश्यक पर्दछ ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि प्रदेश र केन्द्र सरकारले यस क्षेत्रका लागि विशेष योजना बनाएर विकास र निर्माणको कामलाई प्राथमिकताका साथ लगिरहेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र बजार जोड्ने अनेकन सम्भावनाका कारण यो क्षेत्र राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रीय रूपमा केन्द्रको रूपमा विकास हुने र विकसित मुलुकका महानगरहरूसँग सहकार्यका अवसरहरू विकास हुन सक्छन् । उद्योग, व्यवसाय र पेसागत सबै क्षेत्रहरूबाट उपमहानगर तीब्र विकास र उपमहानगरवासीको जीवनस्तरमा रूपान्तरण ल्याउन एवम् समृद्ध भविष्य निर्माणको लागि राज्यका सबै पक्ष एकाकार भएर अघि बढ्नुपर्छ । समृद्धि र विकासका लागि दल, समुदाय र नागरिकहरू सबै आ–आफ्नो ठाउँबाट जागरुक बन्न सक्नुपर्दछ । राष्ट्रिय उद्योगको विकास, कृषिजन्य सामानहरुको उपभोगमा आत्मनिर्भरता सम्भव बन्न सक्छ ।

महिलामाथिको लैङ्गिक हिंसा, दलित समुदाय माथिको छुवाछूत विभेद र उत्पीडन, मधेशी तथा आदिवासी–जनजाति समुदायमाथिको भाषिकलगायतका सामाजिक–सांस्कृतिक र मनोवैज्ञानिक तथा क्षेत्रीय उत्पीडन विद्यमान छ ।  यस्ता समस्यालाई न्युनिकरणका लागि यस्ता महोत्सवहरुले समेत उत्प्रेरकको भूमिका खेल्न सक्नुपर्दछ । नयाँ संविधानले  सुनिश्चित गरेका जनताको हक, अधिकारको कार्यान्वयनतर्फ पनि राज्य, राजनीतिक पार्टीहरु र नागरिक समाजको समन्वय र सहकार्य जरुरी छ ।

कृषि र पर्यटनको विकास तथा उद्योग कलकारखानाको निर्माणमा व्यवस्थित योजनामा लागि परियो भने मुलुकभित्रका युवाहरुलाई रोजगार बनाउन सम्भव छ । आत्मनिर्भर अर्थतन्त्रको विकास सम्भव छ । सरकारले अगाडि सारेको सामाजिक न्यायमा आधारित सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा गर्न स्थानीयस्तरमा गरिने यस्ता मेला र महोत्सवहरुले सेतुको भूमिका खेल्नसक्छ भन्नेमा विश्वास पनि लिएको छु । आपसी सद्भावको पहिचान बोकेको सिमरालाई नमुना एवम् व्यापारिक केन्द्र बनाउने उद्देश्यका लागि यो मेला भव्य सफल होस भन्ने शुभकामना व्यक्त गर्दछु ।              धन्यवाद ।

२०७६ मंसिर १९ गते, जितपुर, बारा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *