पुष ११, जनकपुरधाम । जलश्रोतको यथोचित व्यवस्थापन हुन सके देश समृद्ध हुने प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बताउनुभएको छ ।
जल तथा उर्जा आयोग सचिवालय काठमाण्डौको सहकार्य तथा लाहमियर ईन्टरनेशनलको आयोजनामा जनकपुरधाममा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । देशमा बिद्यमान जलश्रोतको उचित व्यवस्थापन र जलबिद्युत आयोजनाहरुमा उपयोग गर्न सकिए देश समृद्ध हुने उहाँको भनाई थियो । त्यस्तै, नदीहरुबाट बग्ने पानीहरुलाई ड्याम तथा नहर बनाई वा पानीको भण्डारण गरी सुख्खायाममा कृषि जन्य क्षेत्रहरुमा सिँचाईको प्रयाप्त व्यवस्था गर्नुपर्ने उहाँले सुझाव समेत दिनुभयो ।
साथै उहाँले चुरे क्षेत्रको विनाश रोक्न सके मात्र तराई मधेशको उर्वर भुमि क्षेत्र जोगीने धारणा राख्नुभयो ।
सातै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गरी सुझावहरुलाई समेटी प्रतिवेदन तयार गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल कुमारी झा, निति आयोगका सदस्य सुरेन्द्र झा, राजपाका प्रमुख सचेतक परमेश्वर साह सहितले सुझाव सहितको आ आफ्नो मन्तव्य राखेका थिए ।